२०८३ श्रावण १२ , मंगलबार

कम्बोडियाबाट ठगीमा परेका ४०० नेपालीको उद्धार

nepal-Police

सुनाखरी न्युज/ काठमाडौँ ।

आकर्षक रोजगारी र विभिन्न प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा कम्बोडिया पुर्‍याई ‘साइबर दास’ बनाइएका चार सय नेपाली नागरिकको एकै वर्षमा उद्धार गरिएको छ । मुलुकको बेरोजगारीको फाइदा उठाउँदै विभिन्न गिरोहले नेपाली युवालाई थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस र भियतनाम पुर्याएर बन्धक बनाउने गरेको पाइएको छ।

अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो ।

यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना राहदानी वा राहदानी- अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष कम्बोडियाबाट उद्धार हुने नेपालीको सङ्ख्यामा भारी वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/ ८२ मा १४ जना ( १२ पुरुष र २ महिला)  को उद्धार गरिएकोमा त्यसअघिका वर्षहरूमा यो सङ्ख्या थोरै मात्र थियो ।

मानव तस्करहरूले वैदेशिक रोजगारीको लोभ देखाएर नेपाली युवाहरूलाई कम्बोडिया पुर्‍याउने र त्यहाँ पुगेपछि बन्धक बनाई अवैध अनलाइन तथा साइबर अपराधका गतिविधिमा संलग्न गराउने गरेको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै गिरोहले नेपालीहरूलाई ठगी धन्दामा ‘साइबर दास’का रूपमा प्रयोग गर्ने क्रम बढेपछि प्रहरीले उद्धार पहललाई थप तीव्र बनाएको हो