२०८३ श्रावण १२ , मंगलबार

सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, अनसन अन्त्य

WhatsApp-Image-2026-07-27-at-9

सुनाखरी न्युज/ काठमाडौँ । 

सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक प्रा.  डा .  गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ । सहमतिसँगै डा .  केसीले साउन ११ गतेदेखि आफ्नो जारी अनसन अन्त्य गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। जगदीश प्रसाद अग्रवालको रोहवरमा सरकारी वार्ता टोली र डा .  केसीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तिमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ।

एमबिबिएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढीमा तीन महिनाभित्र अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ।

चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सिट निर्धारण गर्ने सहमति भएको छ।निजी मेडिकल कलेजमा सिट संख्या नबढाइने, तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकताअनुसार सिट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ । छात्रवृत्तिसम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने सहमतिमा उल्लेख छ । यस्तै, चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैर–नाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष पेश गर्नेछ । उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहित प्रतिवेदन बुझाउनेछ ।

सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक पूर्वाधार तथा सेवा विस्तारमा संघ तथा प्रदेश सरकारले प्राथमिकताका साथ समन्वय गर्ने पनि सहमतिमा उल्लेख छ । सहमतिपत्रमा २०८२ भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट तथा विनाशका घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीसँग सम्बन्धित भ्रष्टाचार तथा अपराधका घटनाको निष्पक्ष छानबिनलाई थप तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।