२०८३ श्रावण ११ , सोमवार

कारभित्र जलेको अवस्थामा भेटियो सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालको शव

received_2999821850225224-768×600

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–९ अन्तर्गत साङ्गला–पटापु क्षेत्रमा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान ४५ वर्षीया रश्मी रिजालका रूपमा भएको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेज, घटनास्थलको अवस्था र बरामद प्रमाणका आधारमा प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जनाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ४५ वर्षीया रिजाल साउन ८ गते बिहान ७ बजे तारकेश्वर–९ मनमैजुस्थित शुभकामना चोकस्थित घरबाट निस्किएकी उनी नफर्किएपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो।

प्रहरी वृत्त बालाजुलाई तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक एउटा गाडी शङ्कास्पद रूपमा रोकिएको सूचना
। प्राप्त भएको थियो। कालो सिसा भएका कारण स्थानीयले गाडीभित्र केही देख्न सकेका थिएनन्। प्रहरी पुगेर जाँच गर्दा बिएई ०४१० नम्बरको ईभी कारको पछिल्लो सिटमा रिजाल मृत अवस्थामा फेला परेकी थिइन्। गाडीको चाबी चालक सिटमै रहेको प्रहरीले जनाएको छ।उनी पेट्रोल बोकेर गएको र शरीरमा पेट्रोल छर्किएपछि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी भट्टराईले बताए। घटनास्थल वरपरको सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनामा अन्य व्यक्तिको उपस्थिति वा संलग्नता नदेखिएको उनको भनाइ छ।

प्रहरीका अनुसार रिजालले गाडीको एयर कन्डिसन सञ्चालन गरेपछि सुरुमा कारबाहिर शरीरमा पेट्रोल छर्केकी र त्यसपछि गाडीभित्र प्रवेश गरेर आगो लगाएकी थिइन्। घटनास्थलबाट गाडीभित्र जलेको अवस्थामा तीनवटा लाइटर बरामद भएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार गाडीको ढोका भित्रबाट लक गरिएको थियो र सिसिटिभी फुटेजले पनि आगो आफैँले लगाएको देखाउँछ। घटनास्थलमा भेटिएको गाडी पनि उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले रिजालको अनुहार र खुट्टा जलेको तथा गाडीको भित्री भागमा मात्र आगलागी भएको, बाहिरी भाग भने सुरक्षित रहेको जनाएको छ।नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भएकी रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। प्रहरीका अनुसार उनी केही समयदेखि तनावमा थिइन्। गएको महिना लगातार तीन दिन कार्यालयमा अनुपस्थित भएपछि कार्यालयले समेत उनको खोजी गरेको थियो। उनी सानिमा क्यापिटलमा मर्चेन्ट हेड नियुक्त हुनुअघि एस क्यापिटल लिमिटेडमा करिब नौ वर्षभन्दा बढी समय प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिइन्।