२०८३ श्रावण ११ , सोमवार

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै

nagdhunga-tunnel-sunil-lamsal-1230-1024×624

  सुनाखरी न्युज/ काठमाडौँ । 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उदघाटन गरिएको छ ।पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग ( जाइका) का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०: २५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन् ।

विवरणअनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।

कुल दुई हजार ६ सय ८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ । आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।