
सुनाखरी न्युज/ काठमाडौँ ।
अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।सिन्धुली–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू बीपी राजमार्ग सडकखण्डमा आउने सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ ।
बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सम्पूर्ण सवारी साधन सञ्चालन हुँदै आएका प्रहरीले बताएको छ ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा सडकमाथिबाट ढुंगा माटोसहित लेदो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८, बेलबगर कालीगण्डकी करिडोर सडक खण्डमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ । अबिरल वर्षाको कारण दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाघु–रामेछाप राजमार्ग सडकखण्डमा पानीको बहाव बढी कटान हुँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मकवानपुरस्थित कान्ति लोकपथमा वर्षातको कारण सवारी साधन रातिको समयमा चलाउन रोक लगाइएको छ । बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाको कारण बाटो हिलो हुँदा उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।