
सुनाखरी न्युज/ काठमाडौँ ।
रास्वपाकी सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै सरकारले तत्काल उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएकी छन्। सांसद कार्कीले डा. केसीका मागहरूबारे शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै आन्दोलन चर्किएपछि वा स्वास्थ्य अवस्था बिग्रिएपछि मात्र सम्बोधन गर्ने पुरानो प्रवृत्ति दोहोरिन नहुनेमा जोड दिइन्।उनले सरकार जनताको सुझाव सुन्न तयार रहेको उल्लेख गर्दै केसीलाई अनशन अन्त्य गरेर प्रधानमन्त्री, शिक्षामन्त्री तथा स्वास्थ्यमन्त्रीसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेकी छन् ।
उनले आफ्नो स्टाटसमा लेखेकी छन्, ‘तपाईंजस्तो निष्ठावान् सत्याग्रहीले सरकारलाई खबरदारी गर्न आमरण अनशन बस्नुपर्ने अवस्था आउनु हुँदैन । यो सरकार जनताको सरकार हो, सेवक सरकार हो । तपाईंका जायज मागमा सहकार्य गर्दै अघि बढ्न तयार छ ।’ जनदबाब बढेपछि मात्रै समस्या समाधान गर्ने पुरानो प्रवृत्ति दोहोरिन नहुने बताएकी छन् ।
फेसबुक स्टाटसमै कार्कीले डा. केसीले गेटास्थित दशरथ चन्द मेडिकल विश्वविद्यालयको विरोध गरेको भन्ने प्रचार गलत भएको स्पष्ट पारेकी छन् । उनका अनुसार डा. केसीको मुख्य जोड सुदूरपश्चिममा गुणस्तरीय अस्पताल सञ्चालन, एमबीबीएस अध्ययन छिटो सुरु गर्ने र चिकित्सा शिक्षा ऐनको मर्मअनुसार प्रक्रिया अघि बढाउने विषयमा रहेको छ । उनले डा. केसीको सत्याग्रहकै कारण गेटामा ठूलो संरचना निर्माण, अस्पताल र चिकित्सा शिक्षाको आधार तयार भएको उल्लेख गर्दै विगतका उपलब्धिलाई तोडमोड गरेर प्रस्तुत गर्नु उचित नहुने बताएकी छन् ।
कार्कीले गेटामा ६०० शय्याको संरचना निर्माण भए पनि हालसम्म ३०० शय्याको अस्पतालसमेत पूर्ण रूपमा सञ्चालन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । विगतमा सरकारले मेडिकल कलेज, प्रतिष्ठान र विश्वविद्यालयका नाममा प्रक्रिया लम्ब्याउँदा सुदूरपश्चिमका नागरिकले सेवा पाउन ढिलाइ भएको उनको भनाइ छ । उनले अहिले चिकित्सा शिक्षामै केन्द्रित देशकै एकमात्र विश्वविद्यालयका रूपमा शहीद दशरथ चन्द विश्वविद्यालय अगाडि बढाइएको विषयलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्दै यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।
कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. केसीले वर्षौंदेखि चलाउँदै आएको अभियानप्रति आफ्नो समर्थन निरन्तर रहने स्पष्ट पारेकी छन् । नेपाली जनताको हितसँग जोडिएका सुधारका एजेन्डामा आफू सधैं डा. केसीसँग रहने उनको भनाइ छ । डा.केसी बिहीबारदेखि धनगढीमा आमरण अनशनमा बसेका छन् । उनले यसअघि सरकारलाई आफ्ना पाँच बुँदे माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए । तोकिएको अवधिमा माग सम्बोधनतर्फ कुनै ठोस पहल नभएपछि पुनः सत्याग्रह सुरु गर्नुपरेको उनको भनाइ छ ।