२०८३ श्रावण ८ , शुक्रवार

विराटनगर विमानस्थलबाट साढे ६ लाख रकमसहित उपसचिव पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौँ ।

विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । तामाङ नेपाल सरकारका उपसचिव हुन्। दोलखाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भएका उपसचिव तामाङ साउन ३ गते बुद्ध एयरको उडानबाट काठमाडौँ जाने तयारीमा थिए ।

विमानस्थलको नियमित प्रस्थान सुरक्षा जाँचका क्रममा उनले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी कुल ६ लाख ६५ हजार रुपैयाँ भेटिएको थियो । बरामद रकमको कानुनी स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षा गार्डले उनलाई तत्कालै नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बरामद नगदको स्रोत पुष्टि हुन नसकेकाले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।