२०८३ श्रावण ७ , बिहिवार

‘बाँदर हेरालु’ को जागिर खुल्यो, कति पाइन्छ तलब ?

monkey

सुनाखरी न्युज/ काठमाडौँ ।

बाँदर धपाउनका लागि जागिर खुलेको छ । बाँदरले खेतबारीका अन्नबाली नै नष्टगर्न थालेपछि डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर व्यवस्थापन तथा बाली संरक्षणका लागि २० जना कर्मचारी नियुक्त गर्ने भएको हो । बाँदरबाट अत्यधिक प्रभावित जिल्लाका २६ क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि कार्यालयले आवेदन आह्वान गरेको हो।

आवेदन दिन सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरिसकेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ। छनोट भएका हेरालुले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन्।

बाँदर हेरालुको कार्य बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बाली क्षतिको अभिलेख राख्ने, सम्बन्धित वडा तथा कार्यालयलाई जानकारी गराउने तथा मानवीय र वातावरणमैत्री तरिकाले बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने रहनेछ।