२०८३ श्रावण ७ , बिहिवार

रवि लामिछाने चीन जाँदै, चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता हुने

Rabi-Lamichane

सुनाखरी न्युज/ काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा छन्।साउनको अन्तिम साता उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ जान लागेको रास्वपा स्रोतले जानकारी दियो। हाललाई साउनको अन्तिम साता भ्रमणको मिति तय भनिएको भए पनि तलमाथि हुन सक्ने स्रोतले जनाएको छ ।

पार्टीका एक उच्च नेताका अनुसार भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सभापति लामिछानेको भेट गराउने वातावरण बनाउन चिनियाँ पक्षसँग आग्रह गरिएको छ । नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि लामिछानेले पहिलो पटक चीन भ्रमण गर्न लागेका हुन् । नयाँ सरकार गठनपछि छिमेकी मुलुकहरूसँग कूटनीतिक संवाद बढाउने प्रयासस्वरूप यो भ्रमण हुन लागेको बुझिएको छ। चीन भ्रमणमा लामिछानेसँग जाने प्रतिनिधिमण्डलका अन्य सदस्यको नाम भने सार्वजनिक गरिएको छैन ।

रास्वपाको उक्त भ्रमण पार्टी–पार्टी सम्बन्ध विस्तार गर्ने उद्देश्यले हुन लागेको बताइएको छ। भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। एक उच्च सरकारी अधिकारीका अनुसार लामिछानेलाई यसअघि नै चीन भ्रमणको निम्तो प्राप्त भए पनि यसपटकको भ्रमणमा उच्च तहमा महत्वपूर्ण राजनीतिक संवाद हुने संकेत प्राप्त भएको छ।

यसअघि रास्वपा सभापति लामिछानेले जेठ १८–२२ सम्म भारतको पाँच दिने भ्रमण गरेका थिए। भारतीय जनता पार्टी  ( भाजपा )  का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत पुगेका उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नवीनलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।