
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । ललितपुरको युएन पार्कबाट सुरू भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई सभापति गगन थापाले नगद पुरस्कार प्रदान गरेका छन्।
जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको दौड युएन पार्कबाट सुरु भई जावलाखेल पुगेर सम्पन्न हुनेछ।प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम भए। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए। दोस्रो नरेन्द्र सिंह रावल भए भने उनले २५ हजार पुरस्कार पाए।
तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ भने चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ अमृत ठकुरीलाई १० हजार र छैटौं नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कांग्रेसले जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।