
सुनाखरी न्युज/ अस्टिन (टेक्सस) ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका विगत एक वर्षदेखि दुई फरक नेतृत्वमा विभाजित रहँदै आएको अवस्थामा टेक्ससको अस्टिन महानगर क्षेत्रअन्तर्गत पर्ने राउन्ड रकस्थित Holiday Inn Austin North–Round Rock मा आयोजित १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सन भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले संस्थागत एकताको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकाको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको छ।
अमेरिकाका विभिन्न राज्यबाट आएका प्रतिनिधि, पूर्व पदाधिकारी, समुदायका अगुवा, व्यवसायी, पत्रकार, युवा, महिला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सम्मेलनको शुभारम्भ राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि दुवै पक्षका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेती ले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। लामो समयपछि एउटै मञ्चमा उभिएर संयुक्त रूपमा उद्घाटन गर्नु सम्मेलनको सबैभन्दा ऐतिहासिक र भावनात्मक क्षणका रूपमा हेरिएको थियो। उद्घाटन समारोहमा उपस्थित सहभागीहरूले लामो समयदेखि प्रतीक्षा गरिएको संस्थागत एकताको सन्देशलाई ताली बजाएर स्वागत गरेका थिए।
उद्घाटनअघि केही दिनदेखि दुवै पक्षबीच निरन्तर संवाद र छलफल चलेको थियो। सोही क्रममा १६ बुँदे सहमति भएपछि विकास उप्रेती नेतृत्वको कार्यसमितिले भर्चुअल बैठकमार्फत सहमतिलाई अनुमोदन गर्दै साधारणसभामा सहभागी हुने निर्णय गरेको थियो। शनिबार बिहान दुवै पक्षका पदाधिकारीहरूबीच जुममार्फत अन्तिम छलफलसमेत सम्पन्न भएको थियो। भर्चुअल बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीहरूले संस्थागत एकताको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको उद्देश्य प्राप्तिका लागि सबै पक्षबीच मन, विचार र व्यवहारमा एकता आवश्यक रहेको धारणा राखेका थिए।
उद्घाटन समारोहका प्रमुख अतिथि तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष अर्जुन बञ्जाडे ले संस्थाभित्र देखिएका असहमति र विवादलाई संवादमार्फत समाधान गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले साधारणसभाले विधानमा रहेका समस्याहरूलाई सहमतिका आधारमा सुधार गर्दै संस्थालाई अझ बलियो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। विशिष्ट अतिथि सुनिल साह ले विश्वभर छरिएर रहेका करिब ८० लाख नेपालीको साझा संस्था एनआरएनएले प्रवासी नेपालीहरूको हकहितका साथै नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।
अध्यक्ष विकास उप्रेती ले संस्थाको प्रतिष्ठा, गरिमा र सदस्यहरूको भावनालाई सर्वोपरि राख्दै आवश्यक परे जुनसुकै त्याग गर्न आफू तयार रहेको उल्लेख गरे। उनले एकताको अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, पूर्व पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे। सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविन बज्राचार्य, उपमहासचिव मोहमद मुक्तावा, सचिव देविका केसी, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सीपी पौडेल, मेरिल्यान्ड राज्यसभाका डेमोक्र्याटिक उम्मेदवार सतीश चापागाईं, एनएसटीका अध्यक्ष विजय भूषाल, ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) का अध्यक्ष पदम ठकुराठी, आदिवासी जनजाति महासंघका अध्यक्ष एपी शेर्पा लामा, न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछाने, उपाध्यक्ष प्रदीप चौलागाईं र सुरेन्द्र लौडारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी नेपाल अमेरिका पत्रकार संघ (NEAJA) की कोषाध्यक्ष झरना अधिकारी ले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासी नेपाली समुदायलाई जोड्ने अभियानमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहने बताइन्। कार्यक्रमको सञ्चालन महासचिव मोहन न्यौपाने ले गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, सदस्यता विस्तार, समुदाय सेवा, ज्ञान आदानप्रदान, युवा सहभागिता, उद्यमशीलता, संस्थागत सुदृढीकरण, विधान संशोधन तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले एनआरएनए अमेरिकालाई अझ समावेशी, पारदर्शी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए। सम्मेलनका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) ले सञ्चालन गरिरहेको समर स्कुलमा अध्ययनरत बालबालिकाको नेपाली भाषा तथा सांस्कृतिक शिक्षाका लागि १,५०० अमेरिकी डलर बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो। आयोजकका अनुसार उक्त सहयोगले प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। औपचारिक सत्रसँगै सम्मेलनमा विविध सांस्कृतिक कार्यक्रमले विशेष आकर्षण थपेका थिए। कार्यक्रमको सुरुवात नेपाली परम्पराअनुसार स्वागत (वेलकम) नृत्य बाट गरिएको थियो। त्यसपछि योग प्रदर्शन, रामकुमार महतो को नेतृत्वमा समर स्कुलमा अध्ययनरत बालबालिकाहरूले नेपाली भाषा, कला र संस्कृतिको झल्को दिने आकर्षक प्रस्तुति दिएका थिए।
उनीहरूको प्रस्तुतिपछि आयोजकले सबै बालबालिकालाई ‘Token of Love’ प्रदान गर्दै थप हौसला प्रदान गरेको थियो। गायिका देबिका केसी ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूको मन जितेकी थिइन् भने स्थानीय कलाकारहरूले बाजागाजासहित प्रस्तुत गरेको लोकदोहोरी तथा लोकगीत ले सम्मेलनलाई थप जीवन्त बनाएको थियो। त्यसैगरी चर्चित गायक हिमाल सागर ले आफ्नो चर्चित गीत “ए हो र माया” सहित अन्य लोकप्रिय गीतहरू प्रस्तुत गर्दै हलभरि उपस्थित सहभागीहरूलाई नाच्न र रमाउन सफल भएका थिए। उनको प्रस्तुतिमा सहभागीहरूले उत्साहपूर्वक साथ दिएका थिए भने सांस्कृतिक साँझ सम्मेलनको प्रमुख आकर्षण रहेको थियो ।