
सुनाखरी न्युज/ काठमाडौं ।
सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन्।आफूले इच्छाइएको केटीसंग विवाह गर्न नपाएको भन्दै टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर परिवारका सदस्यलाई अत्याएका सर्लाहीका युवकलाई प्रहरीले अस्पताल लगेको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसेनलाई फकाइफुल्याई टावरबाट तल झारेर प्रहरीको गाडीमा प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जाकारी दिए।
‘आफूसँगै पढ्ने एउटी केटीसँग विवाह गर्न नपाएको विरोधमा उनी टावरमा चढेका रहेछन्,’ इन्सपेक्टर पाण्डेले भने, ‘अभिभावकले ती युवतीसँग विवाहको अनुमती नदिएपछि दबाब सिर्जना गर्न आइतबार बिहान उज्यालो नहुँदै उनी टावरमा चढेका रहेछन्। परिवारका सदस्य र हामीले अहिलेलाई फकाइफुल्याइ गरेर उनलाई टावरबाट तल झारेका अस्पताल पठाएका छौँ।’
टेलिफोनमा हुसेनले आफ्नी प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न अभिभावकले अनुमति दिनुपर्ने माग गरेका थिए। यदि आफ्नाप्रति वेवास्ता गरिए टावरबाटै हामफाल्ने चेतावनीसमेत उनले दिएका थिए।
त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उनको उद्धारका लागि टावरको तल पुगेको थियो। तल झर्न आग्रह गर्दा नमानेपछि प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएको थियो। त्यसपछि टेलिफोनमार्फत संवादमार्फत् उनले अभिभावकसँग कुरा गरेका थिए।