
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिका र इरानबीच मध्यपूर्वमा सैन्य तनाव चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन प्रतिशतभन्दा बढीले बढेको छ। सोमबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारल २. ७७ डलर अर्थात् ३. १४ प्रतिशतले बढेर ९०. ८७ डलर पुगेको छ। यो मूल्य गत जुन ११ यताकै उच्च हो। अघिल्लो सातामात्र ब्रेन्टको मूल्य १५.९ प्रतिशतले बढेको थियो, जुन अप्रिलयताकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि मानिएको छ।
इरानले हर्मुज जलडमरूमध्यमा जहाज आवागमनमा कडाइ गरेपछि र अमेरिकाले इरानमाथि थप सैन्य कारबाही गरेपछि ऊर्जा आपूर्तिमा अवरोध आउने चिन्ताले तेल बजार प्रभावित भएको हो।एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसले भने, ‘बजारले एकैपटक दुई विपरीत अवस्थाको सामना गरिरहेको छ। एकातिर भू–राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएको र श्रम बजार नरम बन्दै गएकाले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना कम देखिन्छ।’
उनका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले घरायसी खर्च घटाउन र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ। एसियाली शेयर बजारमा सोमबार मिश्रित कारोबार भयो। चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्वजनिक गर्ने अपेक्षाले हङकङ र साङ्घाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ। हङकङको सूचकाङ्क दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकाङ्क एक दशमलव ३२ प्रतिशतले उकालो लागेको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढेका छन्।
यता सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ। गत शुक्रबार वाल स्ट्रिटका तीनवटै प्रमुख सूचकाङ्क गिरावटमा बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका छन्। यसैबीच, भू–राजनीतिक तनावका बाबजुद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शून्य दशमलव ४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य एक प्रतिशतले बढेको छ।