२०८३ श्रावण ४ , सोमवार

फिफा विश्वकप २०२६ को फाइनल निःशुल्क प्रत्यक्ष प्रसारण हुने

newskarkahna-news905020.-1

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन्। नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलले भोलि राति हुने विश्वकपको उपाधि भिडन्त प्रत्यक्ष प्रसारण गर्ने भएको हो।सञ्चार तथा सूचना प्रविधिमन्त्री ड। विक्रम तिम्सिनाले आइतबार राति हुने विश्वकप फाइनल एनटीभी प्लसमार्फत निःशुल्क हेर्न सकिने जानकारी दिनुभएको हो ।

यस वर्षको विश्वकप फाइनलमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन उपाधिका लागि आमनेसामने हुँदैछन्। विश्वभर चासोका साथ हेरिएको यस खेलमा लियोनेल मेसी र स्पेनका युवा स्टार लामिन यमालबीचको प्रतिस्पर्धाले थप आकर्षण थपेको छ।
यस निर्णयसँगै पे–टिभी वा अन्य सशुल्क प्लेटफर्ममा निर्भर हुनुपर्ने बाध्यता हट्ने भएको छ ।

देशभरका फुटबलप्रेमीले सरकारी टेलिभिजनमार्फत सहज रूपमा विश्वकपको निर्णायक खेलको रोमाञ्च लिन सक्नेछन् । यसअघि तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच भएको खेल पनि एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गरेको थियो । त्यसको निरन्तरतास्वरूप अब फाइनल खेल पनि सार्वजनिक पहुँचमा ल्याइएको हो । विश्वकपको फाइनलप्रति नेपाली दर्शकमाझ विशेष उत्साह देखिएको बेला सरकारी प्रसारण संस्थाको यो निर्णयले ठूलो संख्यामा फुटबल समर्थकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।