
सुनाखरी न्युज/ काठमाडौं।
नुन हाम्रो खानपानमा सोडियमको प्रमुख स्रोत हो। हाम्रो शरीरका लागि सोडियम निकै महत्त्वपूर्ण हुन्छ। कोशिकाहरूलाई राम्रोसँग काम गर्न, शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित गर्न तथा ब्लड प्रेसरलाई नियन्त्रण गर्न सोडियमले महत्त्वपूर्ण भूमिका खेल्छ। सेतो नुनलाई प्रशोधन गरी त्यसमा आयोडिन मिसाइन्छ। आयोडिन थाइराइड ग्रन्थिको कार्य र मस्तिष्कको विकासका लागि आवश्यक पोषक तत्त्व हो।
विशेषगरी गर्भवती महिला र बालबालिकाका लागि पर्याप्त आयोडिन अत्यन्त आवश्यक छ।तर सिधे नुनमा आयोडिन हुँदैन। यसमा केही प्राकृतिक खनिज तत्त्व भए पनि तिनको मात्रा निकै कम हुने भएकाले त्यसबाट विशेष स्वास्थ्य लाभ नहुने चिकित्सकहरू भन्छन्। सिधे नुन र सेतो नुन दुवैको मुख्य रासायनिक तत्त्व सोडियम क्लोराइड नै हो। सिधे नुन कम नुनिलो हुने भएकाले स्वाद मिलाउन धेरै हालिन्छ। यसले शरीरमा सोडियमको कुल मात्रा झन् बढ्न सक्ने उनीहरू बताउँछन्।
चिकित्सकहरूले दैनिक खानपानमा आयोडिनयुक्त सेतो नुन प्रयोग गर्न र यसको मात्रा भने नियन्त्रणमा राख्न सुझाव दिएका छन्। साथै अचार, चटनी, साम्बार तथा धेरै नुन प्रयोग गरिएका प्रशोधित खाद्य पदार्थको सेवन सकेसम्म कम गर्न भन्छन्।
कालो नुन र सेतो नुनबीचको भिन्नता ?
कालो नुन र सेतो नुनको स्वादमा खासै भिन्नता छैन, तर स्वास्थ्य सचेत मानिसले कालो नुन सेवन गर्न रुचाउँछन् । यी दुई नुनको रंगमा मात्रै फरक छैन, यसले स्वास्थ्यमा पनि फरक–फरक प्रभाव पार्छ । कालो नुनको मुख्य स्रोत समुद्र , पहाड वा नुन पानीको ताल हो । जसबाट सोडियम क्लोराइडको रंगीन क्रिस्टलहरू बन्छन्। यो नुन शुद्ध मानिन्छ किनभने यसलाई तयार गर्दा कुनै छेडछाड नगरिएको र यो शुद्ध रूपमा उपलब्ध छ। जबकी सादा नुन तयार गर्न नुनलाई परिष्कृत गरिन्छ। यसमा ९५ प्रतिशतभन्दा बढी नुन पाइन्छ । यसमा अन्य धेरै चीजहरू थपिन्छन् जसमा आयोडिन पनि समावेश हुन्छ। यही कारणले गर्दा सेतो नुन स्वास्थ्यका लागि राम्रो मानिँदैन । सेतो नुन खाँदा उच्च रक्तचाप, हृदयाघात जस्ता रोग लाग्न सक्छ । त्यसैले, सादा नुनको खपत कम गर्नुहोस्। एजेन्सीबाट