
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले करारमा नयाँ कर्मचारी भर्नामा रोक लगाएको छ । कुनै निकायलाई रिक्त भएको दरबन्दीमा करारमा काम लगाउनुपर्ने भएमा करारमा कार्यरत पुरानै कर्मचारीलाई काममा लगाउनुपर्ने भएको हो ।
करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्ने निर्णय गरिएको छ । हाल, करारमा कार्यरत कर्मचारीलाई पुलमा राखेर आवश्यकता अनुसार काममा खटाइने भएको छ ।
पुलमा राखिएका कर्मचारीको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधि राख्नेछ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले करारमा कार्यरत कर्मचारी व्यवस्थापन सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त प्रस्तावमा करार कर्मचारीको करार सम्झौता गरिने उल्लेख छ । तर, कुनै सरकारी सेवाबाट अवकास प्राप्त गरी उपदान गरेका वा निवृतिभरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई भने साउन १ गतेबाट सेवा निरन्तरता नगरी बिदाई गरिनेछ । सरकारी सेवाबाट अवकास पाइसकेर पुनः करारमा भर्ना भएका कर्मचारी बिदाईमा परेका छन् ।