
सुनाखरी न्युज/ ललितपुर ।
सदर चिडियाखाना सर्वसाधारणका लागि पुनः खुला गरिएको छ ।
काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो ।
सङ्क्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लू) भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो ।
चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो ।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने अवलोकनकर्ताले बेलुका ५ बजेभित्र बाहिरिनु पर्नेछ ।