
सुनाखरी न्युज/ काठमाडौं ।
२० वटै वाणिज्य बैंकले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरहरू हेर्दा असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर थप खुम्चिएको देखिएको हो । ब्याजदर घटाउनेमा एनएबी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी बैंक र ग्लोबल आइएमई बैंक छन् । नबिल, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल, कृषि, नेपाल एसबीआई, एभरेस्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी र प्राइम बैंकको ब्याजदर यथावत छ ।
असारको तुलनामा साउनमा ६ बैंकले ब्याजदर घटाएका छन्। एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशत विन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छन्। नबिल र प्रभु बैंकमा सबै भन्दा धेरै ब्याजदर पाइन्छ। यिनमा ४.५५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशतको दरमा ब्याजदर पाइने भएको हो। बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्।