२०८३ असार ३१ , बुधवार

पूँजीबजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागु गरिने

sansadiye_samiti-1024×576

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ । बोर्ड अध्यक्ष ड‍ा‍. गोपालप्रसाद भट्टले  अर्थ समिति बैठकमा बुधवार  बजार बढ्दा मात्र नभइ घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागु गर्न लागिएको बताए ।

अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्ने मान्यता रहेको बताए । कुनै पनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पार्दै उनले बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको गुनासो गरे ।

 

बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको उनले बताए । उनका अनुसार सर्टसेलिङ प्रणाली लागु गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ ।

यो प्रणाली लागु भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् । मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ । बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन् ।