२०८३ असार ३० , मंगलबार

‘मधेसी भएकै कारण कुटपिटरु’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

re

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुर्व्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमै पुगेर भेट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महतोले प्रहरीको कुटपिटबाट माजिद अन्सारीको शरीरभरि निलडाम देखिएको दाबी गर्दै उक्त घटनाले राज्यको निरंकुश तथा विभेदकारी चरित्र उजागर गरेको टिप्पणी गरेका छन्।

महतोका अनुसार भेटका क्रममा माजिद अन्सारीले भावुक हुँदै, “देशको प्रधानमन्त्री आफैँ मधेसी भएको बेला पनि मधेसी भएकै कारण ममाथि यसरी निर्घात कुटपिट किन गरियोरु के यो देशमा हाम्रो आत्मसम्मानको कुनै मूल्य छैनरु यही परिवर्तनका लागि हामी लडेका थियौँ र यही आशामा बालेनलाई मतदान गरेका थियौँरु” भन्ने प्रश्न गरेका थिए।

महतोले अन्सारीको उक्त प्रश्न आफूलाई मात्र नभई सम्पूर्ण मधेसी समुदायको आवाज भएको उल्लेख गर्दै यसलाई वर्तमान सरकार र राज्य व्यवस्थाप्रतिको गम्भीर प्रश्नका रूपमा व्याख्या गरेका छन्। उनले पक्राउ पुर्जीबिनै, कानुनी आधार नदेखाई मध्यरातमा एक युवालाई नियन्त्रणमा लिएर कुटपिट गर्नु तथा ‘मधेसी’ भन्दै नश्लीय गालीगलौज गर्नु कानुनी शासनको सिद्धान्तविपरीत भएको आरोप लगाए।उनले सत्ता परिवर्तन मात्र पर्याप्त नभई मधेसी तथा अन्य सीमान्तकृत समुदायप्रति राज्यको दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्।

महतोले माजिद अन्सारीलाई कुन कानुनी आधारमा पक्राउ गरिएको र उनीमाथि कथित दुर्व्यवहार किन गरियो भन्ने विषयमा सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, अन्सारीको सुरक्षा सुनिश्चित गर्न तथा सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत महतोले रंग, भूगोल वा पहिचानका आधारमा आफ्नै नागरिकमाथि हुने विभेद अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध मौन बस्न नसकिने बताएका छन्। उनले माजिद अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।