२०८३ असार ३० , मंगलबार

सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने तीव्र तयारीमा

hetauda-kapada-udhyog

सुनाखरी न्युज/ काठमाडौं ।

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । सरकारले लामो समयदेखि बन्द रहेको कपडा उद्योग सञ्चालन गर्ने तयारी गरेको हो । सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । उद्योग विसं २०३२ मा स्थापना भएको थियो । विसं २०३५ देखि विसंं २०५६ सम्म कपडा उत्पादन भइ विसं २०५७ देखि उद्योग बन्द भएको थियो ।

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उनले बताए ।  टोलीले उद्योगभित्र सरसफाइको काम तीव्र पारेको, परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको तथा सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिनहरूको मर्मत कार्य सुरु गरिसकेको प्रतिवेदनमा जनाइएको छ ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट रु. ५० लाखको लागत अनुमान पेस गरिएको छ । सोही लागत अनुमानका आधारमा पूर्वाधार विकास मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ ।

प्रतिवेदनअनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ । प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख गरिएको छ । प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।