२०८३ असार ३० , मंगलबार

धरान विद्युत् कार्यालयको गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

accident-

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। एक जना घाइते भएका हुन्।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी खड्काले बताए। दुर्घटनामा घाइते भएका धरानका पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।-रासस