
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । काठमाडौंवासीले प्रयोग गर्ने खानेपानीमा कोलिफर्म र ई.कोलाई जस्ता जीवाणु फेला परेका हुन् ।
हालै जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको परीक्षणमा सबै खानेपानीका नमुनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो । मनसुन सक्रिय भएसँगै काठमाडौंका अधिकांश पानीका स्रोतमा बाढी पसेको छ ।
‘हामीले चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाबाट खानेपानीका नमुना संकलन गरेका थियौं,’ काठमाडौं जनस्वास्थ्य कार्यालयका अधिकृत सरोज रोकाले भने, ‘सार्वजनिक धारासहित घरघरबाट संकलित सबै खानेपानीका नमुनामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव रहेको परीक्षणले देखाएको छ ।’
वर्षातको समयमा देशैभरका अधिकांश खानेपानीका स्रोत बाढी पसेर दूषित हुने गर्छन् । नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ ले पनि देशभरका घरधुरीबाट संकलित ६० प्रतिशतभन्दा बढी खानेपानीका नमुनामा ई। कोलाईसहितका हानिकारक सूक्ष्मजीव भेटिएको देखाएको थियो ।