२०८३ असार २८ , आइतवार

दीपाश्री निरौलालाई ब्रेन ट्यूमर, न्यूरोमा भयो सफल शल्यक्रिया

1783852115-Z0YgC

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । मंगलबार काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्युरोसर्जन डा.  वसन्त पन्तको नेतृत्वमा चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ ।

करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो । डा‍ .  वसन्त पन्तले उनको अप्रेशन गरेको हो ।करिब दुई साताअघि स्वास्थ्य परीक्षणका क्रममा दीपाश्रीको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो । त्यसपछि चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रिया गर्ने निर्णय गरिएको थियो । यस घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दीपकराज गिरीले पछिल्लो सातालाई आफ्नो टोलीका लागि निकै चुनौतीपूर्ण समय भएको उल्लेख गरेका छन् ।

चलचित्रको छायांकनकै बीच दीपाश्रीलाई ब्रेन ट्युमर भएको थाहा पाएपछि उपचारबारे विभिन्न विकल्पमा छलफल भएको र धेरैले भारत जान सुझाव दिए पनि अन्ततः नेपालमै अनुभवी न्युरोसर्जन डा.  वसन्त पन्तको टोलीबाट शल्यक्रिया गराउने निर्णय गरिएको उनले बताएका छन् ।उनले भगवानको कृपाले शल्यक्रिया सफल भएको उल्लेख गर्दै हाल दीपाश्री सामान्य वार्डमा उपचाररत रहेको जानकारी दिएका छन् । साथै, उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी, शुभेच्छुक तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।