
सुनाखरी न्युज/ काठमाडौं ।
‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ ।
विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको नाका बन्द घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ।
सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो। अब त्यसको मूल्य चुकाउनुपर्नेछ।’
यता इरानको सरकारी सञ्चारमाध्यमले आईआरजीसीले होर्मुज मार्ग अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ। इरानी पक्षका अनुसार स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको थियो।
आईआरजीसीले जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरी रोकिएको दाबी गरेको छ। साथै, यस विषयलाई लिएर अमेरिकाले कुनै सैन्य हस्तक्षेप गरे त्यसको ‘कडा जवाफ’ दिइने र क्षेत्रमा रहेका नयाँ अमेरिकी सैन्य आधारहरू समेत निशानामा पर्ने चेतावनी दिएको छ।
यसअघि पनि अमेरिकी सिफारिसमा ओमानको जलक्षेत्र हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो। इरानले आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग नै ‘सुरक्षित’ भएको दाबी गर्दै आएको छ।