२०८३ असार २६ , शुक्रवार

समृद्धि र पोखराको एकीकृत कारोबार शुभारम्भ

merger-logo

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लि. र पोखरा फाइनान्स लि.बीच एक आपसमा गाभ्ने÷गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री रामु पौडेल, तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री विश्रुत थापाले संयुक्त रुपमा शुभारम्भ गर्नु भयो ।

पोखरा फाइनान्स लि.का निर्वतमान अध्यक्ष श्री राज कुमार गुरुङले स्वागत मन्तव्य राख्नु हुँदै मर्जरको आवश्यकता र औचित्यता माथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्श संघका अध्यक्ष राम बहादुर यादव, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष श्री रजोज मान श्रेष्ठ, डेभलपमेण्ट बैंकर एशोसियसनका अध्यक्ष श्री सुयोग श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष श्री सन्तोष कोइराला, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष श्री प्रचण्ड बहादुर श्रेष्ठले समेत मर्जर सम्पन्न गरेकोमा दुवै संस्थालाई शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि द्धय रामु पौडेल तथा विश्रुत थापाले नियामक निकायले वित्तीय संस्थाहरुको यस प्रकारको कदममा सहयोग गर्ने र आगामी दिनमा समेत संस्थाहरुलाई उचित मार्गनिर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष अजय कुमार मिश्रले दुई संस्था मर्ज भई ठुलो भएको र अब सुदृढ एवं मजबुत संस्थागत सुशासन भएको बलियो वित्तीय संस्थाको रुपमा स्थापित गर्ने प्रतिबद्धता पेश गदै मर्जरमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो ।