२०८३ असार २६ , शुक्रवार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

GANMESH

सुनाखरी न्युज/ काठमाडौं ।

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा निधन भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बताए । यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। चिकित्सकहरूले उनको अवस्था अत्यन्त नाजुक रहेको भन्दै बचाउन कठिन भइरहेको बताएका थिए।नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।

आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनको उपचार चुनौतीपूर्ण बनेको थियो। उनलाई वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारीसमेत गरिएको थियो।

सरकारले एयर एम्बुलेन्सदेखि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाएको भए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले चिकित्सकहरूको सल्लाहमा उनलाई स्थानान्तरण गर्न सम्भव भएको थिएन। बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।