
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रका ६ प्रमुख प्रतिनिधिहरूबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज (बुधबार) छलफल भएको छ।
बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक यस्तो छलफल बोलाएका हुन्।
रास्वपा सांसद तथा उद्योगी व्यवसायी विदुषी राणाको सहजीकरणमा बोलाइएको बैठकमा प्रधानमन्त्री शाह, उनका सचिवालयका ६ जनाको टोली र ६ जना उद्योगी व्यवसायीका प्रतिनिधि सहभागी भएका थिए।
छलफलको सुरूआतमा नै निकै अनौपचारिक ढंगले आफूले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्न खोजेको भन्दै कुरा राख्न प्रधानमन्त्री शाहले सहजीकरण गरेका थिए।
प्रधानमन्त्री शाहले आफू निजी क्षेत्रका वास्तविक समस्या र मुद्दाहरू प्रत्यक्ष रूपमा सुन्नका लागि यो छलफल बोलाइएको बताउँदै उद्योगी व्यवसायीहरूलाई कुनै पनि हिचकिचाहट बिना आफ्ना कुराहरू खुला रूपमा राख्न आग्रह गरेपछि निजी क्षेत्रले आफ्ना कुरा राखेका थिए।
बैठकमा सहभागी प्रतिनिधिका अनुसार छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिले मुख्य रूपमा जग्गा हदबन्दीको विषयलाई गम्भीरतापूर्वक उठाए, जसका कारण धेरै उद्योगहरूको विस्तारमा बाधा पुगेको बताए।
यसको अलावा बजारमा बढ्दो अनधिकृत व्यापार ९अनअर्थराइज ट्रेड० नियन्त्रण गर्न र आयात हुने वस्तुहरूको गुणस्तरमा कडाइ गर्नु पर्ने माग पनि उठाएका थिए।