
सुनाखरी न्युज/ काठमाडौं ।
सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न रु’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि सभामुख अर्यालले उनको भनाइ मर्यादाविपरीत भएको भन्दै बीचमै रोकेका थिए।
उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेख बाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताए। आफूहरुले लामो समय सदनमा विरोध जनाउँदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ ।