
सुनाखरी न्युज/ काठमाडौ ।
फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।
प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ ।
क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टिम मात्र पुगेका छन् ।
कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।
साविक विजेता अर्जेन्टिनासहित पुर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् ।
अब एक दिनको ब्रेकपछि क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।
क्वाटरफाइनल समिकरण
क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र २०२२ को सेमिफाइनलिस्ट मोरक्कोबीच हुनेछ । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा भिडेका थिए । जहाँ फ्रान्स मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यस पटक त्यस खेलको रिम्याच जस्तै हुनेछ ।
यस्तै सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दषिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
यसैगरी पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्डले भने त्यसयता फाइनल समेत पुग्न सकेको छैन ।
यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्ड अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । १९औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ र ६४ वर्षपछि विश्वकपको उपाधपि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गोल्डेन बुटको होड
सेमिफाइनल पुग्ने प्रतिस्पर्धासँगै खेलाडीहरुबीच व्यक्तिगत अवार्डको रुपमा रहने गोल्डेन बुटको लागि पनि तिव्र प्रतिस्पर्धा भइरहेको छ ।
अहिलेसम्म लियोनल मेसी ८ गोलसहित सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले समान ७ गोल गरेका छन् । एमबाप्पे ले २ असिस्ट समेत गरेका छन् ।
मेसीले यस विश्वकपमा खेलेको सबै ५ खेलमै गोल गरिरहेका छन् भने हालान्डले पनि आफूले खेलेको सबै खेलमा गोल गरेका छन् ।
टिमलाई आवश्यक पर्दा जस्तोसुकै अवस्थामा पनि यी खेलाडी गोल गर्न सक्छन् । तीन खेलाडीलाई पछ्याइरहेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल गरेका छन् ।
क्वाटरफाइनलमा हालान्डको नर्वे र केनको इंग्ल्यान्ड भिड्ने भएकोले यी दुई खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा छ ।
हालान्ड र केन मध्ये एक खेलाडी मात्र गोल्डेन बुटको होडमा कायम रहँदा एक बाहिरिनेछन् । सेमिफाइनल हुँदै फाइनलसम्म पुग्दा यो होडमा रहने खेलाडीको संदख्या अझै घ६न सक्छ । तर अहिलेका लागि भने गोल्डेन बुटको होड तात्तिएको छ । यसमा ४ गोल गरेका फ्रान्सका उसमान डेम्बेले र स्पेनका मिकेल ओयाजाबाल पनि दाबेदारको रुपमा छन् ।
रोमाञ्चक प्रिक्वाटरफाइनल
२३औं संस्करणको विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरु निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र नाटकिय बन्यो । जहाँ साविक विजेता अर्जेन्टिनाले लेट कमब्याक गर्दा कीर्तिमानी पाँच पटकको विजेता ब्राजिल पराजित हुँदै बाहिरियो । डार्क हर्स टिमहरु नर्वे र मोरक्कोले पनि इतिहास रच्दा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि स्पेनसँग पराजित हुँदे बाहिरियो ।
प्रिक्वाटरफाइनलको पहिलो खेलमा अफ्रिकन पावर हाउस मोरक्कोले सहआयोजक क्यानडालाई ३(० ले हराएर लगातार दोस्रो पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो । चार वर्षअघि मोरक्कोले सेमिफाइनल पुग्दै इतिहास रचेको थियो ।
घरेलु मैदानमा इतिहास रच्दै नकआउट चरण पुगेको क्यानडाको यात्रा अन्तिम १६ मै समाप्त भयो ।
अर्को खेलमा साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको पेनाल्टी गोलमा जायन्ट किलर पाराग्वेलाई १-० ले हरायो ।
यस्तै वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर हालान्डले अन्तिम समयमा दुई गोल गरेपछि ब्राजिललाई २-१ ले हराएर नर्वेले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपमा क्वाटरफाइनल पुग्न असफल रह्यो ।
इंग्ल्यान्डले रोमाञ्चक खेलमा दश खेलाडीमा रहेर पनि सहआयोजक मेक्सिकोलाई ३-२ ले हराउँदै क्वाटरफाइनमला स्थान बनायो ।
अर्को प्रिक्वाटरफाइनलमा मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले छिमेकी पोर्चुगललाई १-० को झिनो अन्तरले हराएर अन्तिम आठमा स्थान बनायो ।
आयोजक राष्ट्रहरु बाहिरिने क्रमले निरन्तरता पाउँदा अमेरिका बेल्जियमसँग घरेलु मैदानमै ४-१ ले पराजित भयो । समूह चरढमा संघर्ष गरेपनि बेल्जियमले नकआउट चरणका खेलमा भने शानदार प्रदर्शन गरिरहेको छ ।
साविक विजेता अर्जेन्टिनाको लागि भने नकआउट चरणका खेलहरु चुनौतीपूर्ण बनिरहेको छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेलाई अतिरिक् समयमा ३-२ ले पराजित गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अर्को अफ्रिकी राष्ट्र इजिप्ट विरुद्ध दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ३-२ को पुनरागमन जित हात पारेको हो ।
यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीसुटबउटमा ४-३ ले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो ।
क्वाटरफाइनल खेल:
फ्रान्स भर्सेस मोरक्को, असार २६ गते विहान १:४५ बजे, बोस्टन स्टेडियम
स्पेन भर्सेस बेल्जियम, असार २७ गते विहान १२:४५ बजे, लस एन्जल स्टेडियम
नर्वे भर्सेस इंग्ल्यान्ड, असार २८ गते विहान २:४५ बजे, मायमी स्टेडियम
अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्ड,असार २८ गते विहान ६:४५ बजे, कान्सास सिटी स्टेडियम