
सुनाखरी न्युज/ काठमाडौं ।
अर्थतन्त्रमा अपेक्षित आर्थिक गतिविधि विस्तार हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा मौद्रिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समीक्षाअनुसार कर्जा विस्तार सुस्त रहँदा बैंकिङ प्रणालीमा रकम थुप्रिने तर लगानी बढ्न नसक्ने अवस्था देखिएको हो।
राष्ट्र बैंकका अनुसार ढिलो भित्रिएको मनसुन, असोज महिनाको अत्यधिक वर्षाका कारण कृषि उत्पादनमा आएको कमी, २०८२ भदौ २३ र २४ को आन्दोलनपछि सिर्जित असहज अवस्था तथा निजी क्षेत्रको कमजोर मनोबलका कारण समष्टिगत मागमा दबाब परेको थियो।
यससँगै वैदेशिक व्यापारमा आएको कमी, सार्वजनिक तथा निजी निर्माण क्षेत्रको सुस्तता, घरजग्गाको कित्ताकाट र विद्युत खरिद सम्झौतासम्बन्धी अन्योलले पनि कर्जा विस्तारलाई प्रभावित बनायो।
आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा र विगतमा प्रवाह भएका कर्जाको गुणस्तर कमजोर बन्दै जाँदा निष्क्रिय कर्जा अनुपात बढेको राष्ट्र बैंकले जनाएको छ।