
सुनाखरी न्युज/ काठमाडौं ।
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा रिलिज हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो ।फिल्म आगामी हरितालिका तीजको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको हो। तस्बिरमा अभिनेता पारस बम ठकुरी ( कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ।
रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्। हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ । श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन् ।
पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए । दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो । मञ्चमै उनीहरूले एक अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो ।
चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि प्रमुख अभिनय रहनेछ । सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय छ ।नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन चलचित्रमा छ।चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह- निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।