२०८३ असार २३ , मंगलबार

दया फाउन्डेसनद्वारा ‘मानवताका जरा : संस्कृति र परम्पराको उत्सव’ कार्यक्रम सम्पन्न

DSC_7719

सुनाखरी न्युज/ काठमाडौं ।

दया फाउन्डेसनद्वारा ‘ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेरिटेज’ शीर्षकमा नेपाली मौलिक संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ एक विशेष सांस्कृतिक कार्यक्रम सफलतापूर्वक नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्ग, काठमाण्डौं मा सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा। केदार भक्त माथेमाको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्कृति, शिक्षा, पर्यटन, साहित्य, संगीत तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा परम्परागत धिमे बाजाबाट अतिथिहरूको स्वागत, कुमारी नृत्य, विभिन्न जातीय सांस्कृतिक पोशाक प्रदर्शन, स्वर्गीय दयाराम भक्त माथेमाका कवितामा आधारित सांगीतिक प्रस्तुति, पौभा तथा समकालीन छ्वाली कलाको परिचय, युवाहरूको सांस्कृतिक सहभागिता तथा नेवारी संस्कारसम्बन्धी मौलिक नेवारी भाषाको पुस्तक विमोचन सम्पन्न गरिएको थियो। साथै, नेपाली संस्कृति संरक्षणमा योगदान पुर्‍याउने कलाकार, सांस्कृतिक अभियन्ता तथा युवा प्रतिभाहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रम मार्फत दया फाउन्डेसनले नेपाली संस्कृति, भाषा, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि युवा सहभागिता, शिक्षा, अनुसन्धान तथा सामुदायिक सहकार्यलाई निरन्तर प्राथमिकता दिने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, कलाकार, सहभागी, स्वयंसेवक, साझेदार संस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति फाउन्डेसन हार्दिक आभार व्यक्त गर्दछ।