
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो ।
कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको कार्यालयले जनाएको छ । चालु आवको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको कार्यालयको अनुमान छ । चालु आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गीकरण मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहेको कार्यालयको अनुमान छ ।