२०८३ असार २२ , सोमवार

नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो : सांसद शाही

gyandra-shahi-1-1781160692

सुनाखरी न्युज / काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णालीमा भएका नागरिकले विपद्को बेला राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसद्‌मा आपत्ति व्यक्त गरेका छन । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले कर्णाली नदीमा नागरिकहरू डुबेर जीवनको भिख मागिरहँदा सरकार र जनप्रतिनिधिहरू सत्ताको भागबन्डा र मन्त्रीको सवारीमा व्यस्त भएको भन्दै आलोचना गरे ।

संसद्‌मा बोल्दै सांसद शाहीले भने, ‘मैले आज कर्णालीमा दुर्घटना मात्र देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु। कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, सरकारको उद्धार टोली बेलैमा आएन।’

सांसद शाहीले दुर्घटनाको समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो छटपटाइरहेका नागरिकको उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि मात्र उडेको गम्भीर दाबी गरे। सो घटनामा ६ जना नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए । उनले आफूले पनि सो दुर्घटनामा आफन्त र परिवारका सदस्य गुमाएको बताउँदै भने, ‘के कर्णालीका जनता यो देशका नागरिक होइनन् ?  यदि कर्णाली पनि नेपाल हो भने, विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ रु विभेद किन र ? ’

सांसद शाहीले कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरे । उनले सभामुखलाई विशेष अनुरोध गर्दै सरकारका नाममा तत्काल रुलिङ गर्न, घटनाको सत्य तथ्य सार्वजनिक गर्न, उद्धारमा ढिलाइ गर्नेमाथि कारबाही गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न माग समत गरेका छन ।