
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ । यस पटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ ।
बजेटले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य तय गरेको छ । बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ ।
यस वर्ष चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी तीन भाग छुट्टाछुट्टै जारी हुने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जनाए ।
विगतका वर्षमा मौद्रिक नीतिमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो ।