
सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र खसीबोकाको मूल्य बढेको छ। केही साताअघिसम्म प्रतिकिलोग्राम १२ सयदेखि १३ सय रुपैयाँ रहेको खसीको मासु अहिले १४५० देखि १६ सय रुपैयाँसम्म पुगेको छ। एकातिर अचाक्ली मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगिएको छ भने अर्कोतिर सस्तोको खोजीमा लाग्दा उपभोक्ताले मिसावटयुक्त अस्वस्थकर मासु खानुपर्ने जोखिम पनि बढेको छ ।
विडम्बनापूर्ण कुरा त के छ भने उपभोक्ताले खसीको मासुमा यति भारी मूल्य चुकाउँदा पनि यसको वास्तविक उत्पादक किसानले भने आफ्नो उत्पादन लागतसमेत उठाउन नसकेको गुनासो गरेका छन् ।यस्तै अवस्था रहे दसैँतिहार नआउँदै जिउँदो खसीको मूल्य १ हजार रुपैयाँसम्म पुग्न सक्ने उनी बताउँछन्।
खसीबोका निकै कम आउने सिजन भएको र माग पनि बढी रहेकाले मूल्य बढेको उनले बताए। अहिले खेतीबालीको सिजन भएकाले खसीबोका धेरै ल्याइँदैन।नेपाली बजारमा सबैभन्दा बढी खपत कुखुराको मासुको हुन्छ भने त्यसपछि खसी र राँगा–भैंसीको मासु धेरै बिक्छ । तर, अहिले कुखुरामा देखिएको बर्डफ्लुका कारण मासुको सन्तुलित आपूर्ति प्रणाली खलबलिएको छ । बर्डफ्लु नियन्त्रणको प्रयास स्वरूप सरकारले ठूलो परिमाणमा कुखुरा तथा पन्छीजन्य पदार्थ नष्ट गरिसकेको छ । विभागका अनुसार देशभरि करिब साढे ६ लाख कुखुरा नष्ट गरिसकिएको छ ।