२०८३ असार २१ , आइतवार

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

hatti1

सुनाखरी न्युज / काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका(२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र आसपासबाट बस्तीमा पसेको जंगली हात्तीले शनिबार मध्यरातमा स्थानीय एक कच्ची घरमा आक्रमण गर्दा यो दुःखद घटना घटेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति करिब ११ बजे घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गरेको थियो। हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको थियो। छलफलमा नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरू सहभागी भएका थिए।हात्ती धपाउन पूर्णले आगो बाल्न खोज्दा घरमा समेत आगलागी भएको छ । कच्ची घरमा लागेको सो आगो स्थानीय र प्रहरी मिलेर निभाएको डीएसपी यादवले बताए ।