२०८३ असार १९ , शुक्रवार

पूर्वसांसद कोइरी पक्राउ

Laxmi_Mahato_Koiri-768×459

सुनाखरी न्युज /  काठमाडौं ।
नेकपा ( एमाले ) का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ  ( सशस्त्र प्रहरी सहायक निरीक्षक )  थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गर्नुभयो । यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा ( एमाले ) बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार हुनुहुन्थ्यो । कोइरी यसपालि पराजित हुनुभयो ।

नेकपा ( एमाले ) को मधेस प्रदेश कमिटी सदस्य रहनुभएका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ । सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उहाँलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।