
सुनाखरी न्युज / काठमाडौं ।
कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । भीमदत्त नगरपालिका- १८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो । भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक ( एसपी ) दिल्लीराज बिष्ट ९हाल एसएसपीबाट अवकाश०का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् ।