२०८३ असार १७ , बुधवार

साउन १ देखि ड्राइभिङ लाइसेन्स नवीकरण गर्दा पनि अहिलेको भन्दा दोब्बर नै तिर्नुपर्ने

smart-license

सुनाखरी न्युज /  काठमाडौं ।

बाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र  ( ड्राइभिङ लाइसेन्स) को शुल्क बढाएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३ / ८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण र वर्ग थप शुल्कमा भारी वृद्धि गरेको हो । जसअनुसार साउन १ गतेदेखि बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र ( लाइसेन्स )  लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि नयाँ आर्थिक भार बढ्ने भएको हो ।नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि आवेदन दिँदा नै पहिलेको तुलनामा दोब्बर दस्तुर बुझाउनुपर्नेछ । जसअनुसार आवेदन शुल्क ५०० रुपैयाँबाट वृद्धि गरी १ हजार रुपैयाँ पुर्याइएको छ ।

यस्तै मोटरसाइकल, स्कुटर  ( ए वर्ग )  तर्फ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५ सयबाट वृद्धि गरी ३ हजार रुपैयाँ पुर्याइएको छ। कार, जिप, भ्यान  ( बी वर्ग ) , टेम्पो  ( सी वर्ग )  र पावर ट्रिलर  ( डी वर्ग )  तर्फ २ हजारबाट वृद्धि गरी ४ हजार रुपैयाँ पुर्याइएको छ भने ट्रयाक्टर  ( ई वर्ग )  र मिनीबस÷मिनी ट्रक  ( एफ वर्ग )  तर्फ २ हजार ५ सयबाट वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याइएको छ ।

जी, एच, आई र जे वर्ग  ( ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर, ग्रेडर )  तर्फ ३ हजारबाट वृद्धि गरी ६ हजार रुपैयाँ पुर्याइएको छ। यसबाहेक आफूसँग भएको लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहनेहरूका हकमा पनि शुल्क बढाइएको छ । जसअनुसार ए देखि एफ वर्गसम्मको हकमा ५ सयबाट १ हजार रुपैयाँ र जी देखि जे वर्गसम्मको हकमा १ हजारबाट २ हजार रुपैयाँ पुर्याइएको छ ।