२०८३ असार १७ , बुधवार

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

nrb1

सुनाखरी न्युज /  काठमाडौं ।

नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ( ख ) ’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ । ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी गरिने छ । न्यूनतम रु पाँच करोड र त्यसपछि रु पाँच करोडकै गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।

यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ । सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ( काउन्टरपार्टी)  मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । एउटै संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । स्वीकृत हुने ब्याजदर सबैभन्दा कम ब्याजदरबाट क्रमशः निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले स्वीकृत बोल रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने जनाएको छ । खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुनुका साथै छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात  ( सिआरआर )  मा गणना गरिने छैन ।वैधानिक तरलता अनुपात  ( एसएलआर )  र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।