
सुनाखरी न्युज / काठमाडौं ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परेर एक महिलाको दुःखद मृत्यु भएको छ। बाली जोगाउन श्रीमानले राखेको करेन्टमा परेर धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी श्रीमती ६० वर्षीया हुमकला भण्डारीको यस्तो घटनामा परेर मृत्यु भएको हो ।
गए राति करिब १ः३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर ( बँदेल ) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाड्नुभएको थियो । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नै भान्सा र बारी वरपर जङ्गली जनावरको आतङ्क रोक्न चालिएको यो आत्मघाती कदमले आफ्नै श्रीमतीको ज्यान लिएपछि प्रहरीले मृतकका श्रीमान् भेषराजलाई नियन्त्रणमा लिएको छ ।