२०८३ असार १६ , मंगलबार

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

photo-0cdf8c97

सुनाखरी न्युज /  काठमाडौं ।

औद्योगिक क्षेत्रको झण्डै साढे ४२ करोड भाडा बक्यौता उठेको छ । मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि. स.  २०४५ सालदेखि नै केही उद्योगहरुले भाडा तिर्न बाँकी राखेका थिए । केही दिन अगाडि करिब ६३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना नै प्रकशित गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन् ।

मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ । सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो । ति उद्योगहरुको धमाधम भाडा तिरेपछि लाइन जोडिएको छ । अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिइन् । मन्त्री यादबले उक्त उद्योगहरुको बक्यौता पूर्ण रुपमा चुक्ता नहुदासम्म लाइन नजोड्ने स्पष्ट निर्देशन दिनुभएको लिमिटेडले बताएको छ ।

बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा. लि. को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ । हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।