
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरस्थित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रा . लि. ’लाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।गृहमन्त्रीको सचिवालयका अनुसार मंगलबार चितवनको लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा अम्लेट खाने क्रममा गुरुङले माछाको काँडा फेला पारेका थिए। अम्लेटमा अखाद्य वस्तु भेटिएको विषय सार्वजनिक भएपछि सम्बन्धित निकायले होटलमा अनुगमन तथा सोधपुछ गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको कारण जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिनुभयो । उहाँका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुधन गुरुङ त्यही होटलमा बस्नुभएको थियो । प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी सूचना अनुसार, उक्त होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ विपरितको कसुर गरेको पाइएको छ । सोही ऐनको दफा ३९ ( १ ) को खण्ड ( ख ) बमोजिम होटललाई ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो ।