
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उदार अर्थतन्त्रसहितको लोककल्याणकारी राज्य निर्माण गर्ने मूल नीति अंगीकार गरेको छ । नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी रहेको रास्वपाले प्रस्ट्याएको छ ।
चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा पार्टी नेता तथा अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत अर्थराजनीतिक दस्तावेजमा वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु रहेको जनाइएको छ । लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतसाधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित सामाजिक पुँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्ने रास्वपाको नीति छ ।
रास्वपा सभापति रवि लामिछानेले पार्टीको मूल राजनीतिक सिद्धान्त ‘सामाजिक लोकतन्त्र’ हुने बताएका छन् । मंगलबार महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले संविधानलाई नै ‘वाद’ वा सिद्धान्तका रूपमा अंगीकार गर्न उपयुक्त नहुने निष्कर्षमा पुगेको बताएका हुन् । रास्वपा परम्परागत ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ होइन र जानीबुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित नरहेको लामिछानेले बताए ।