
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल र भारतबीच पछिल्लो समय देखिएको गैरभन्सार अवरोधको प्रभाव पूर्वी नेपालको मुख्य नगदेबाली तथा निर्यातमुखी क्षेत्र चिया उद्योगमा परेको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले भारतबाट भित्रिने गुलियो केरामा अत्यधिक विषादी भएको भन्दै आयातमा कडाइ गरेपछि सुरु भएको यो विवाद अहिले नेपाली चियाका लागि प्रत्युत्पादक बनेको छ । शुरुमा नेपालले केरा, आँपलगायतका फलफूलमा प्राविधिक समस्या देखाउँदै अघोषित रुपमा बन्देज लगाएको केही महिनापछि भारतले पनि पूर्वी नेपालबाट चियापति लिएर भारततपर्फ निर्यात हुने अवस्थामा रहेको गाडीलाई चेकजाँचको नाममा साताभन्दा बढी समयदेखि गाडी रोकेपछि त्यसको प्रत्यक्ष असर व्यवसायमै संकट उत्पन्न भएको छ । नेपालको चिया उद्योग अहिले इतिहासकै कठिन मोडमा छ ।
भारतले केराको आयात अवरोधलाई प्रतिष्ठाको विषय बनाएर नेपाली चियाको घाँटी निमोठ्ने काम गरेको स्पष्ट देखिन्छ । ७० अर्बको लगानी र एक लाखभन्दा बढीको रोजगारी जोगाउन अब केवल उद्योगी र किसानको प्रयासले मात्र सम्भव छैन । यो संकट समाधानका लागि नेपाल सरकारले उच्चस्तरको कूटनीतिक पहल कदमी चाल्न ढिला भइसकेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेकी कार्की सरकारले भारतबाट आयात हुने केरामा मानव स्वास्थ्यका लागि हानिकारक विषादी रहेको भन्दै नेपालले गैरभन्सार अवरोध सिर्जना गरेको थियो । सोही समय अर्थात् गत कार्तिक महिनादेखि नै भारतले यसको ‘काउन्टर’ का रूपमा नेपालबाट निर्यात हुने ‘टर्रो’ चियालाई निशाना बनाउन शुरु गरेको थियो । नेपालले केराको आयातमा लगाएको अवरोध अझै कायम रहेका बेला भारतीय पक्षले त्यसको बदला लिन वैशाख १८ गतेदेखि चियाको गुणस्तर परीक्षणको नयाँ नाटक मञ्चन ग¥यो ।
निर्यात प्रभावित भएपछि किसानले उत्पादन गरेको हरियो पत्ती बिक्री गर्न कठिनाइ भएको छ । उद्योगीहरूको तथ्यांक अनुसार इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग र झापाका ३० वटा सीटीसी उद्योगसहित ९५ भन्दा बढी उद्योगको उत्पादन प्रभावित भएको छ। कारखानामा करिब १२ लाख किलो तयारी चिया मौज्दात रहेको बताइएको छ । नेपालमा चिया खेतीको इतिहास करिब १५० वर्ष पुरानो मानिन्छ । इलाम र झापाबाट सुरु भएको चिया खेती अहिले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरसम्म विस्तार भएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती भइरहेको छ ।
झापामा मुख्यतः सीटीसी चिया उत्पादन हुने गरेको छ भने पहाडी जिल्लाहरूमा उत्पादन हुने अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाएको छ । पूर्वी नेपालको कृषि अर्थतन्त्रमा चिया क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।करिब ३० हजार किसान परिवारको आयआर्जन यसै क्षेत्रमा निर्भर रहेको बताइन्छ । उद्योगीहरूका अनुसार नेपाली चियाको ठूलो हिस्सा भारतीय बजारमा निर्यात हुने भएकाले हालको अवरोधले उद्योगको भविष्यप्रति चिन्ता बढाएको छ । उद्योगी तथा किसान संगठनहरूले समस्या समाधानका लागि नेपाल र भारतबीच कूटनीतिक तथा प्राविधिक तहमा छलफल गरी निकास खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।