
सुनाखरी न्युज/ काठमाडौं ।
बढ्दो व्यापार घाटालाई सम्बोधन गर्दै निर्यातमुखी आर्थिक प्रणालीको विकास गर्ने उद्देश्यका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ कार्यान्वयनमा ल्याएको छ ।
४ असारको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत यस कार्ययोजनाले आगामी केही वर्षभित्रै मुलुकको व्यापार क्षेत्रमा व्यापक संरचनात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ ।
संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको सक्रिय सहभागिता रहने गरी तयार पारिएको यस कार्ययोजनामा व्यावसायिक वातावरण सुधारका लागि १६२ वटा भन्दा बढी विशेष क्रियाकलापहरू समावेश गरिएका छन् ।
कार्ययोजनाको प्राथमिक लक्ष्य तुलनात्मक लाभ भएका वस्तुहरूको उत्पादन बढाएर निर्यातको दायरा फराकिलो बनाउनु रहेको छ । यसका लागि ‘नेपाल व्यापार एकीकृत रणनीति २०८०’ ले पहिचान गरेका विशिष्ट वस्तुहरूको उत्पादन र निकासीका लागि छुट्टै कार्यविधि र योजनाहरू निर्माण गरिनेछ ।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन वर्षमा कम्तीमा एक पटक नेपालमै अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने र वैदेशिक मुलुकमा हुने विभिन्न ठूला मेलाहरूमा नेपाली उद्यमीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति मन्त्रालयले लिएको छ ।
विशेष गरी साना तथा मझौला उद्योगहरूलाई निर्यातमा प्रोत्साहित गर्न विभिन्न किसिमका आर्थिक सहुलियत र सुविधाका कार्यक्रमहरू समेत यस कार्ययोजनामा समेटिएका छन् ।
नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्दै आएका गैर–भन्सार अवरोधहरूलाई हटाउन कार्ययोजनाले प्राविधिक पूर्वाधार विकासमा विशेष लगानी गर्ने योजना अघि सारेको छ ।