२०८३ असार ७ , आइतवार

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

1782016381-Qhq3F

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली हास्य क्षेत्रका परिचित कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्षरत शर्माको अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान निधन भएको जानकारी प्राप्त भएको छ। उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए ।

उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट फ्यांकलिन अस्पतालमा रिफर गरिएको थियो । उनी करिब सात वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका थिए।

टेलिफिल्म ‘चतुरेको दाउपेच’ मार्फत दर्शकमाझ लोकप्रिय बनेका शर्माले नेपाली हास्य मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनीसँग थुप्रै सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले पनि शर्माको निधनको पुष्टि गरेका छन् । उनले फेसबुकमा असल साथी गुमाएको उल्लेख गरेका छन् । लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् ।