
सुनाखरी न्युज/ काठमाडौं ।
विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै, यस्ता विज्ञापन गरिएको भेटिए कारबाही गरिने समेत बोर्डले जनाएको छ ।
सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटो विज्ञापन उपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए ।
सञ्चार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको हो ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार–प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी परेका छन् ।
यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दाबीका आधारमा आर्थिक ठगीसमेत हुने जोखिम बढाएको बोर्डको भनाइ छ ।